देशभरका शिक्षकहरुले आजदेखि काठमाडौंमा आन्दोलन गर्दै


काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दैछ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधबारदेखि गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन गर्नु परेको बताए ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको भनाई छ । हाल काठमाडौं रहेका र आज आउन लागेका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने चेतावनी पनि उनले दिए।