महोत्तरीको चुरे क्षेत्रमा वायु प्रदूषण गम्भीर बन्दै


महोत्तरी । महोत्तरीको चुरे क्षेत्रका स्थानीय बासिन्दा एक्कासि आँखा पोल्ने समस्याले प्रभावित भएका छन् ।
स्थानीयहरूका अनुसार वायुमण्डलमा बाक्लो धुवाँ देखिएपछि आँखा पोल्ने समस्या झन् बढ्दै गएको छ। केही दिनदेखि वायु प्रदूषण अत्यधिक बढेकाले बाहिर निस्कँदा मात्र होइन, घरभित्र बस्दा पनि असर गरिरहेको स्थानीय युवा अमिश रिसाल बताउँछन्। उनले भने, "हिजो राति ९ बजे कोठामा नै बस्दा पनि आँखा असह्य रूपमा पोल्यो, हेर्नसमेत गाह्रो भयो। यो समस्या यथावत् रहे भयावह स्थिति निम्तिन सक्छ।
विशेषगरी औरही नगरपालिका, बर्दिवास, र गौशाला नगरपालिकामा यो समस्या गम्भीर रूपमा देखिएको छ । बिहान मर्निङ वाकमा निस्कनेहरू पनि अत्याधिक तुवाँलाे देखिएपछि त्रसित भएका छन् ।
शुभस्वस्तिक अस्पतालका प्रमुख दीपक कार्कीले वायु प्रदूषणको तस्बिर सार्वजनिक गर्दै बालबालिका र वृद्धवृद्धाहरूलाइ विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उनले भने,"हाल चुरे क्षेत्रमा देखिएको बाक्लो हुस्सु वास्तवमा वायु प्रदूषणकै संकेत हो। यसबाट बच्न सतर्कता आवश्यक छ ।"
स्वास्थ्यकर्मीहरूले चुरे क्षेत्र, विशेषगरी बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहका अनुसार चुरे क्षेत्रमा भइरहेको डढेलोका कारण यो समस्या उत्पन्न हुनसक्छ।
उनले भने, "वनहरूमा डढेलो व्यापक रूपमा फैलिएको छ। यसका कारण वायु प्रदूषण चरम अवस्थामा पुगेको हुनसक्छ। जे भए पनि जनस्वास्थ्यका लागि सावधानी आवश्यक छ ।"
स्वास्थ्यकर्मीहरूले अत्यावश्यक कामबिना घरबाहिर नजान सल्लाह दिएका छन् । साथै, वर्षा नहुँदा वायु प्रदूषण अझ भयावह बन्न सक्ने चेतावनीसमेत दिएका छन् ।