मेरो ज्यानको ग्यारेन्टी भए २४ घन्टाभित्र सार्वजनिक हुन्छु : दुर्गा प्रसाईँ


काठमाडौं । काठमाडौंको तीनकुनेको प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले आफू भागेर कतै नगएको बताएका छन् । बुधबार फेसबुकमा एउटा भिडियो सन्देश दिँदै उनले आफू नेपालमै रहेको दाबी गरेका छन् । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्र सार्वजनिक हुने घोषणा गरेका छन् ।
‘म कहीँ भागेको छैन, भारततिर गएको होइन । म स्वागत नेपाल र टंक दुलालसहितका वकिल र मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु’, उनले भने, ‘यदि मेरो ज्यानको ग्यारेन्टी हुन्छ भने म २४ घण्टामा सार्वजनिक हुन्छु ।’
प्रहरी प्रमुख दीपक थापाले सुरक्षा ग्यारेन्टी दिने भए २४ देखि ३६ घण्टामा आफू मानवअधिकारवादीको रोहबरमा काठमाडौं आउने पनि बताए । गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे । आफू बाहिर आएपछि उक्त रकम दिने उनले बताए ।