Ad Image

काठमाडौं महानगरपालिकाले ४ हजार शिक्षकका लागि ‘शिक्षक तालिम’ सञ्चालन गर्दै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744284064.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तर विकासका लागि शिक्षकहरुलाई तालिम प्रदान गर्ने भएको छ । बुधबार बसेको महानगरको शिक्षा स्वास्थ्य समितिको बैठकले ‘टिचर्स कलेज प्रोग्राम’ अन्तर्गत चार हजार ८० शिक्षकलाई तालिम दिने निर्णय गरेको हो ।

 

वैशाख ८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन हुने तालिममा सामुदायिक विद्यालयबाट ७० प्रतिशत र संस्थागत विद्यालयबाट ३० प्रतिशत शिक्षकलाई सहभागी गराउने महानगरले जनाएको छ ।

 

तालिममा कक्षा ४ देखि १० सम्मका शिक्षकहरुका लागि वैशाख १२ गतेसम्म एकीकृत सिकाइ र आन्तरिक मूल्याङ्कन नतिजा सुधार कार्यक्रम सञ्चालन हुनेछ । यही समूहका लागि वैशाख १३ गतेदेखि १५ गतेसम्म प्रश्नपत्र निर्माण तथा विश्लेषण तालिम हुनेछ र शिक्षकका लागि सिकाइमा सूचना प्रविधि सम्बन्धी तालिम वैशाख १६ गतेदेखि सुरु हुने महानगरले जनाएको छ ।

 

त्यसैगरी कक्षा १ देखि कक्षा ३ सम्मका शिक्षकका लागि एकीकृत पाठ्यक्रम र प्रारम्भिक बाल विकास तथा शिक्षाका सहजकर्ताका लागि वैशाख ८ गते सुरु हुने तालिम वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । यी दुवै शीर्षकका हरेक तालिममा ४८०/४८० जना शिक्षकलाई सहभागी गराउने लक्ष्य रहेको महानगरले जनाएको छ।

 

कक्षा ४ देखि ८ सम्मका शिक्षकहरुका लागि (बुक फ्री फ्राइडे) सिर्जनात्मक सिकाइ सम्बन्धी तालिम वैशाख २१ गते प्रारम्भ हुनेछ । ३ सय जना शिक्षकलाई सहभागी गराउने लक्ष्य राखिएको यो तालिम जेठ ४ गते सकिनेछ । यही समूहका शिक्षकहरुलाई वृत्ति मार्गनिर्देशन तथा मनोसामाजिक परामर्श सम्बन्धी तालिम जेठ ४ गते सुरु भएर ८ गते समापन हुने महानगरले जनाएको छ।

 

तालिममा सहभागी हुन शिक्षकहरुले वैशाख २ गतेभित्र अनलाइनबाट आवेदन दिनुपर्नेछ ।  आवेदन दिँदा नाम, थर, स्थायी ठेगाना, फोन नम्बर, इमेल ठेगाना, काम गरिरहेको शिक्षण संस्थाको नाम र ठेगाना, शिक्षण संस्थाको प्रकार (सामुदायिक वा संस्थागत), शिक्षण पेशामा काम गरिरहेको प्रमाण, नागरिकताको प्रमाण पत्र, परिचय पत्र वा नियुक्ति पत्रलगायत विवरण भर्नुपर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाले यसअघि पनि विभिन्न तह र विधामा २ हजार शिक्षकलाई क्षमता तालिम प्रदान गरिसकेको छ ।