राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको जानकारी दिएको छ । संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन बोलाइएको हो ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।