साढे चार करोड लागतमा लिमिठाना–अर्चले–भँगरा सडक कालोपत्र गर्न सुरु


काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका तीन वटा वडाका साथै राष्ट्रिय राजमार्ग जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । लिमिठाना–अर्चले–भँगरा सडक सोमबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो ।
चार करोड ६२ लाखको लागतमा कालोपत्र गर्न थालिएको सडकको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको फलेवास नगरपालिका–७ का अध्यक्ष केशर पन्तले जानकारी दिए ।
पहिलो चरणमा एक किलोमिटर कालोपत्र हुने उनले बताए । यो सडकखण्डअन्तर्गत लमायखोलादेखि लिमिठानासम्मको खण्ड यसअघि नै कालोपत्र भइसकेको छ । पूर्वाधार विकास कार्यालय र फलेवास नगरपालिकाको साझेदारीमा यसअघिनै पाँच किलोमिटर सडक कालोपत्र भएको हो ।