संघीय निजामती ऐन जारी गर्न माग गर्दै राज्य व्यवस्था समितिमा कर्मचारीको धर्ना
Mayorsap
शुक्र, बैशाख ५, २०८२ | १२:२३ बजे
काठमाडौं । निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियन सञ्जालले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति कार्यालयमा धर्ना दिएको छ । शुक्रबार सञ्जालले कर्मचारीअनुकूल संघीय निजामती ऐन जारी गर्न माग गर्दै कार्यालय घेराउ गरेको हो ।
कर्मचारी संगठनहरूले समितिका सभापति रामहरि खतिवडालाई ११ बुँदे माग समेटिएको ज्ञापन पत्र समेत बुझाएका छन्। उनीहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।
कर्मचारीहरुले बिहीबार (हिजो) विरोधका कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । ज्ञापनपत्र बुझाउनुअघि कर्मचारीहरूले धर्ना दिएका हुन् ।
कर्चारीहरूले आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने घोषणा गरेका छन् ।