राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने तयारी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । राजसंस्था पुनःस्थापनाका लागि आन्दोलनमा होमिएको राप्रपाले आज पहिलो दिन निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो । प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने राप्रपाले जनाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा विजुलीबजारमा मध्यान्न १२ बजे प्रदर्शन सुरु हुने छ । लिङदेनले नै अगुवाइ गरेर बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्ने योजना रहेको स्रोतले बतायो । यस्तै बालुवाटारमा सम्भवतः डा. प्रकाशचन्द्र लोहनीले र भद्रकालीमा विक्रम पाण्डेले आन्दोलनको नेतृत्व गर्ने तयारी छ । यद्यपि, अन्तिम समयसम्ममा आन्दोलनको रणनीतिमा परिमार्जन गर्न सक्नेछन् ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको थियो ।राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ माग गर्दै राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो । राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारवाही गर्ने गृह मन्त्रालयको चेतावनीपछि जनमानसमा आज पनि चैत १५ गतेको तीनकुने आन्दोलनजस्तै हिंसात्मक हुने त होइन भन्ने त्रास उत्पन्न भएको छ ।