शिक्षक महासंघले संस्थागत विद्यालयलाई पनि आन्दोलनमा बोलायो


काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन आह्वान गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गरी आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि सबै शिक्षकहरूलाई आग्रह गरेको छ ।
यस्तै, यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा कुनै पनि हिसाबमा संलग्न नहुन समेत महासंघले अनुरोध गरेको छ । महासंघले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

