Ad Image

हुम्लाको अदानचुली गाउँपालिकाका दुर्गम गाउँहरु धमाधम सडक सञ्जालसँग जोडिँदै

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745596239.jpg

हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् । गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला दुर्गम गाउँबस्ती सडक सञ्जालमा जोडिँदै गएका हुन् ।


 

यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको अदानचुली गाउँपालिका–५ का स्थानीय दीपबहादुर शाहीले बताए ।

 

उनले भने, “पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार दिन पैदलयात्रा गुर्नपथ्र्यो । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा दुई चार घण्टामा घर पुग्छ ।” गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने शाहीले बताए । अदानचुली गाउँपालिकाका पाँच वडामा सडक सञ्जालमा जोडिएका छन् भने वडा नम्बर ६ को पाल्स र लमही मात्र बाँकी रहेकाले सडकको पहुँचमा छैन ।

 

वडा नम्बर ६ को लमही र पाल्सका गाउँवस्तीमा सडक पुर्याउने कार्यलाई निकै तीव्रता दिँदै आएको छ । यहाँका अधिकांश बस्तीको बीचबीचमा ठूला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्तीहरू सडक सञ्जालको पहुँचमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए ।

 

अहिले यहाँका ती ठूला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँबस्तीलाई सडक जोड्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सिंहले बताए । उनले भने, “यस ठाउँको भूगोलले नै समस्या पारेकाले केही ढिलाइ भएको छ अहिले करिब रु एक करोडभन्दा धेरै बजेट विभिन्न निकायबाट पहल गरी विनियोजन गरिएको छ ।”