पत्याउनुहुन्छ ! अमेरिकामा फाेहाेरका कारण बगिरहेकाे नदीमै लाग्थ्यो आ*गो–एक मेयरबाट भएको थियो सुधार
अनि विश्वभर नै वातावरणको मुद्दा उठाउन मद्दत पुग्यो
Mayorsap
शुक्र, बैशाख १९, २०८२ | १०:५४ बजे
एजेन्सी । ओहायोको कुयाहोगा नदी कुनै समय यति प्रदूषित थियो कि बगिरहेकाे नदीमै नियमित रूपमा आगो लाग्थ्यो। २२ जुन १९६९ मा दिउँसो कुयाहोगा नदीमा तैरिरहेको फोहोरमा ट्रेनबाट झरेको स्पार्कले आगो सल्कायो। स्थानीयहरूले आगो पाँच तल्लासम्म पुगेको रिपोर्ट गरे ।
दमकलकर्मीहरूले ३० मिनेटभित्रै आगो निभाए। दुईवटा रेल पुलमा कुल ५० हजार डलरको क्षति भयो। कुयाहोगा नदी ओहायो राज्यको उत्तरपूर्वी भाग हुँदै बग्छ र अन्ततः लेक एरी (Lake Erie) मा मिसिन्छ। क्लीभल्यान्ड शहर ठीक त्यस स्थानमा बसेको छ जहाँ कुयाहोगा नदी लेक एरीमा मिसिन्छ। यसकारण, क्लीभल्यान्डको विकास नै यस नदीको किनारमा भएको हो। त्यतिबेला अमेरिकाका नदीहरू कति प्रदूषित थिए भन्ने विषय तपाईँ माथिको प्रसंगबाटै बुझिहाल्नुहुन्छ । सन् १९६७ मा अमेरिकाकाे क्लीभल्यान्डमा कार्ल बी. स्टोक्स पहिलो अफ्रिकी-अमेरिकी मेयर बने । स्टोक्सले सामाजिक न्यायसँगै वातावरणीय न्यायको पनि मुद्दा उठाए। उनले प्रदूषणलाई केवल वातावरणीय समस्या नभई मानव अधिकार र सामाजिक असमानताको मुद्दा माने। सन् १९६८ मा, उनले सय डलर मिलियनको शहरको सरसफाइ, ढल व्यवस्थापन सुधार, र नदी सफाइमा खर्च गर्ने शर्तमा फण्डसहितको योजना नगरपरिषदमा ल्याए जुन नगर परिषदबाट पास भयो। यो रकमबाट क्लीभल्यान्ड शहरको सरसफाइ, ढल व्यवस्थापन सुधार, र नदी सफाइमा खर्च गरिने भयो।
ओहायोको कुयाहोगा नदीमा अन्तिमपटक २२ जुन १९६९ मा डरलाग्दाे आगो लागेको थियो। त्यो आगलागीले अमेरिकामा वातावरणीय सुधारकाे बिउ नै राेप्याे । एक वर्ष अघि तत्कालीन मेयर स्टोक्सले सरसफाइमा दिएको चासाेलाई सयौं गुणा बढाउन त्याे घटनाले भूमिका नै खेल्याे । दिउँसो, नदीमा तैरिरहेको तेलको सतहमा आगो तब लाग्यो जब नजिकैबाट गुज्रिएको रेलको स्पार्कले त्यहाँको फोहोरमा आगो लगायो। स्थानीयका अनुसार ज्वाला पाँच तलासम्म उक्लिएको थियो, तर दमकलकर्मीहरूले ३० मिनेटभित्र आगो निभाए। दुईवटा रेल पुलमा जम्मा $५०,००० (आजको झण्डै $४२८,५०० वा £३२१,०००) बराबरको क्षति भएको थियो।
“हामीसँग १९६९ को आगलागीको तस्बिरमा केवल आगो निभाउँदै गरेका दमकलकर्मीहरू, पुलमा पानी छ्यापिरहेका दृश्यहरू, र मेयर कार्ल स्टोक्सको भोलिपल्ट पत्रकारहरूसँग कुरा गरिरहेको तस्बिर मात्र छ,” सिन्सिनाटी विश्वविद्यालयका इतिहास प्राध्यापक डेभिड स्ट्र्याडलिङ त्यतिबेलाको घटना सम्झिन्छन् ।
यद्यपि, छोटो समयको त्यो आगलागी अमेरिका भित्र बढ्दो वातावरणीय सचेतनाको प्रतीक बन्न पुग्यो। नदीका अघिल्ला आगलागीका तस्बिरहरूले प्रदूषण र सामाजिक न्यायबारे राष्ट्रिय बहसलाई उजागर गरे, जुनबेला अमेरिका भित्र हरित आन्दोलनले गति लिन थालेको थियो।
कुयाहोगा नदीको भयावह प्रदूषणको इतिहास निकै पुरानो छ। सन् १८०० को अन्त्यसम्ममा क्लीभल्यान्ड र कुयाहोगा औद्योगिक क्रान्तिको केन्द्र बन्दै गएका थिए। सिन्सिनाटी विश्वविद्यालयका इतिहास प्राध्यापक डेभिड स्ट्र्याडलिङका अनुसार यो नदीको माथिल्लो भागमा रहेको स्टील उद्योगहरू सुरू भयो। नदीबाट धेरै कच्चा पदार्थ ओसारप्रसार हुन्थ्याे । “एकपटक स्टील उद्योग बसेपछि अन्य उद्योगहरू पनि वरपर बस्न थाले,” सिन्सिनाटी विश्वविद्यालयका इतिहास प्राध्यापक डेभिड स्ट्र्याडलिङ सम्झन्छन्।
तर यसका साथमा अत्यधिक रसायन र ग्रीस (grease) {तेलजस्तो चिल्लो र चिप्लो पदार्थ जनाइन्छ जुन विभिन्न मेकानिकल, औद्योगिक, वा खाना पकाउने प्रयोजनमा प्रयोग गरिन्छ} पनि आयो। र त्यतिबेला वातावरणीय नियमहरू नभएकोले यी सबै पदार्थदेखि फोहोर मलमूत्रसमेत नदीमा फालिन्थ्यो।
“हामीले ढलको कुनै उपचार गर्दैन थियौं। शौचालयबाट फ्लश गरिएका सबै कुरा सिधै नदीमा पठाइन्थ्यो,' अमेरिकन रिभर्सका मिड-अटलान्टिक क्षेत्रीय निर्देशक एडम शेलह्यामर भन्छन्, 'पहिलो विश्वयुद्धको बेला औद्योगीकरण झन् तीव्र भयो र नदीको अवस्था झन् बिग्रियो।'
१९३० को दशकसम्ममा कुयाहोगा नदी खुला ढलजस्तै बनिसकेको थियो — दुर्गन्ध र तेलको सतहले बदनाम थियो । नदी नजिकका जीवजन्तुहरू भाग्थे वा मर्थे। “कुयाहोगा दशकौंसम्म मृत नदी थियो,” सिन्सिनाटी विश्वविद्यालयका इतिहास प्राध्यापक डेभिड स्ट्र्याडलिङ भन्छन्, “माछा थिएन, चराहरू थिएनन्। मानिसहरू त नदीमा खसेमात्रै भने पनि अस्पताल जानुपर्ने चेतावनी दिन्थे। र, कहिलेकाहीँ, अत्यधिक प्रदूषित नदीमा आगो लाग्थ्यो।”
यो नदीमा सन् १८६८ मा पहिलो आगलागी भएको थियो, र त्यसपछि कम्तीमा १२ पटक आगो लागेको अमेरिकी वातावरण संरक्षण एजेन्सी (EPA) ले जनाएको छ। ठूला आगलागीहरू १९३६, १९४१, १९५२ र १९६९ मा भएका थिए।
१९६८ मै मेयर कार्ल बी. स्टोक्सको प्रयासमा नदी सरसफाइका लागि सय मिलियनको 'बन्ड' स्वीकृत भइसकेको थियो (आजको झण्डै $९०० मिलियन)। १९६९ मा फेरि आगो लागेपछि स्टोक्सले तत्काल नदी सफाईको कदम चाले।
“त्यो ठिक समय, ठिक स्थानको कुरा थियो,” पूर्व ओहायो EPA निर्देशक तथा हाल EPA क्षेत्र ५ की प्रशासक एन भोगल भन्छिन्, “त्यो बेला क्लीभल्यान्डमा वातावरणीय र सामाजिक मुद्दाहरू एक ठाउँमा जोडिन्थे।”
स्टोक्स अमेरिका भित्र कुनै ठूलो सहरका पहिलो अफ्रिकन-अमेरिकन मेयर थिए। उनी जान्दथे कि क्लीभल्यान्डका औद्योगिक क्षेत्रहरूमा रहेको प्रदूषण मुख्यतः गरिब र कालाे जाती समुदायका बासिन्दाहरूको जीवनसँग गाँसिएको छ।
“उहाँ एकजना कालो व्यक्ति हुनुहुन्थ्यो सेता जातीकाे बाहुल्य सहरमा,” स्ट्र्याडलिङ भन्छन्, “राजनीतिक रूपमा धेरै सहयोगी थिएनन् तर प्रेसमार्फत् कुरा जनतासमक्ष ल्याएर क्लीभल्यान्ड मात्र नभई पूरै क्षेत्रको समस्या भनेर उठाउन सक्थे।”
स्टोक्सले १९६९ को आगो लागेको एक दिनपछि पत्रकारहरूलाई नदी प्रदूषणको भ्रमण गराएका थिए — जसमा नदीमात्र होइन वरपरको ढल व्यवस्थासमेत देखाइयो। उद्देश्य स्पष्ट थियो — नदी सफा राख्न संघीय सरकार र वरपरका बस्तीहरूले पनि सहयोग गर्नुपर्छ।
त्यो भ्रमणमा थिए क्लिभल्यान्ड प्रेसकी वातावरण रिपोर्टर बेट्टी क्लारिक, जसले कुयाहोगा नदी र इरी तालबारे दशकौं रिपोर्टिङ गरेकी थिइन्। उनले १९६९ को आगलागीबारे लेखेको समाचार पछि राष्ट्रिय रूपमा चर्चित बन्यो। स्ट्र्याडलिङ सम्झन्छन्, 'स्टोक्सले सबैभन्दा धेरै वातावरण रिपोर्टर बेट्टी क्लारिकसँगै संवाद गरे ।'
तस्बिर र क्लारिकको रिपोर्ट पछि टाइम म्यागजिनले सन् १९५२ को भयावह आगोको तस्बिर प्रयोग गर्दै अमेरिका भरको जल प्रदूषणबारे लेख प्रकाशित गर्यो। “त्यो घटनाले प्रदूषण विरुद्धको आवाजलाई बलियो बनायो,” शेलह्यामर भन्छन्, “कुयाहोगा यति प्रत्यक्ष थियो कि अब वातावरणको संरक्षणका लागि एकीकृत कदम चाल्नैपर्ने भयो।”
२२ अप्रिल १९७० मा मनाइएको पहिलो पृथ्वी दिवस अमेरिका भित्रको वातावरणीय आन्दोलनको औपचारिक सुरुआत मानिन्छ। तर यसको बीउ सन् १९६२ मै रचेल कार्सनको पुस्तक साइलेंट स्प्रिङबाट रोपिएको थियो।
१९७० मा राष्ट्रपति निक्सनले EPA स्थापना गरे र १९७२ मा क्लीन वाटर एक्ट लागू भयो, जसले कुयाहोगा पुनरुत्थानको बाटो तयार गर्यो। र, EPA कै अनुसार, त्यो कानुनले ढल प्रशोधनको आवश्यकतालाई औपचारिक रूपमा मान्यता दियो।
त्यसपछि क्लीभल्यान्डका उद्योगहरू पनि सुधारिन थाले। केही प्रदूषणकारी उद्योगहरू बन्द भए। स्ट्र्याडलिङका अनुसार कडा कानुनी रूपरेखा, सार्वजनिक दबाब र उद्योगको जिम्मेवारीबाट सुधार सम्भव भयो।
१९७० को दशकदेखि ८० को अन्त्यसम्म कुयाहोगाको सरसफाइ क्रमिक रूपमा बढ्दै गयो । बाँध हटाउने कामले ठूलो भूमिका खेल्यो — जस्तै २०२० मा ब्रेकभिल बाँध हटाइएको थियो, जसले लेक इरीका माछाहरूलाई नदीको माथिल्लो क्षेत्रमा पुग्न सहज बनायो। अहिले पनि उक्त नदीको १०० वर्ष पुरानो गोर्ज बाँध हटाउने तयारी हुँदैछ, जुन अझै नदीको स्वास्थ्यमा मुख्य बाधक मानिन्छ।
२०१९ मा माछा खान नपाइने प्रतिबन्ध हटाइयो। अहिले कुयाहाेगा नदीमा मानिसहरू अब माछा मार्ने र चरा हेर्ने जस्ता गतिविधिमा रमाइरहेका छन्। सन् २००६ मा लोप भएका चील र ब्लु हेरनहरू कुयाहाेगा आसपास देखिन थालेका छन्।
नोट-यो सामाग्री बीबीसीबाट अनुवाद गरिएको हो । अनुवादक: रामचन्द्र मिश्र