मेयर बालेनले उद्योगी व्यवसायीसँग भने– कस्तो जनशक्ति चाहियो, सीप मेलामा त्यस्तै तालिम दिन्छौं


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पहिलोपटक उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । ‘सीप मेला’को सन्दर्भमा मेयर बालेनले उद्योगी व्यवसायीसँग छलफल गरेका हुन् । आज मेयर बालेनसँगको बैठकमा उनीहरुले गएको वर्ष सम्पन्न मेलाका विषयमा प्रतिक्रिया दिँदै आउँदो मेलामा सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
मेयर बालेनले यस वर्ष २०८१ जेठ ७ गतेदेखि टुँडिखेलमा गएको वर्ष जस्तै सीप मेला सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । ‘मेलासँगै महानगरपालिकाले वर्षभरि नै सीपमूलक तालिम सञ्चालन गरिरहेको छ । यस्ता तालिमबाट मानव पुँजीका रुपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाएका छौँ ।

निजी, उद्योग तथा वाणिज्य क्षेत्रले कस्ता खालका जनशक्ति आवश्यकता महसुस गर्नुभएको छ । महानगरपालिकासँग जनशक्तिको प्रकृति माग गरिदिनुभयो भने हामी त्यसैअनुरुपका तालिम सञ्चालन गर्छौँ । यहाँहरुले गर्ने जनशक्तिको माग नै हाम्रा लागि ठुलो सहयोग हुनेछ । हामी मानव पुँजी र निजी, उद्योग तथा वाणिज्य क्षेत्रका बिचमा भएको सम्बन्ध खाडल पुर्ने प्रयास गर्नेछौँ ।’ प्रमुख शाहले भने ।
निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग महानगरपालिकाले सामाजिक उत्तरदायित्त्व अन्तर्गत सहकार्य गर्न चाहेका छौँ ।’ उनले भने, ‘यस सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ । निराश भएका युवाहरुमा आशा पलाउँछ । यो आशा भनेको रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।’

बैठकमा निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले उद्योग क्षेत्रले भोगिरहेको जनशक्तिको अभाव कम गराउन महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमले नतिजा दिएको उल्लेख गरे । उनीहरुले, आधारभूत तालिमलाई अद्यावधिक गराउँदै विशेषज्ञ तालिम सञ्चालन गर्न, मानव पुँजी पलायनलाई रोक्न, वैदेशिक रोजगारीबाट अनुभवी भएका, काममा निखार आएका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन, सेवा निवृत्तहरुले दिन सक्ने समयलाई श्रम क्षेत्रमा आबद्ध गराउन, बैङ्कहरुसँग सहकार्य गरेर बिउ पुँजीको व्यवस्थापनमा सहजीकरण गरिदिन महानगरपालिकाका कार्यक्रमले सहयोग गर्ने बताए ।
नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङ् लगायत कामका लागि युवाहरुमा तत्परता देखिँदैन । यही काम विदेशमा गएर सजिलै गर्छन् । यसकारण यी पेशाहरुमा आकर्षण बढाउनु पर्छ । यी तुरुन्तै रोजगारी दिन सकिने ठाउँ हुन् । उनीहरुको सुझाव थियो । नेपालमा रोजगार दिन सकिने ठाउँ पनि छ । रोजगारमा जान चाहने दक्ष जनशक्ति पनि छन् । तर, दुई पक्ष एकले अर्को कहाँ छ थाहा पाएका छैनन् । यो समस्या समाधानका लागि सीप मेला उपयुक्त थलो बन्न सक्छ । छलफलमा विषय उठेको थियो ।

यसरी धारणा राख्नेहरुमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि के. सी. र उपमहाप्रवन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ, शंकर ग्रुपका अखिल गुप्तासहित प्रतिनिधि थिए ।
छलफलको प्रारम्भमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, गएको वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै, २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताए । तालिम लिएकामध्ये स्वदेश र विदेश गरी करिब १ हजार २ सयजनाभन्दा बढी प्रत्यक्ष रोजगारीमा आवद्ध भएको उनको भनाइ छ ।

१५ हजार व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको छ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सिपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो ।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएका थिए । आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सीप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु मेलाको लक्ष्य हो ।