जेठ १५ गतेको प्रदर्शनमा सहभागी हुन राजावादीको आह्वान


काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि सक्रिय संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आयोजना हुने प्रदर्शनमा उपत्यका बाहिरका जनतालाई पनि सहभागी हुन आग्रह गरेको छ ।
आइतबार संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई सफल बनाउन काठमाडौं बाहिरबाट जनसहभागिता सुनिश्चित गर्न निर्णय गरेको हो । बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापालगायत नेताहरूको उपस्थिति थियो ।
शान्तिपूर्ण हुने भनिएको प्रदर्शनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरिने र विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने सरकारी तयारीको विरोध गर्ने निर्णय पनि गरिएको छ ।
तीनकुने घटनाका सन्दर्भमा पक्राउ परेका व्यक्तिहरूको रिहाइको माग गर्दै समितिले वातावरण राजसंस्थाको पक्षमा अनुकूल बन्दै गएको दाबी गरेको छ । संयोजक सुवेदीले संविधानसम्मत राजसंस्था र हिन्दु अधिराज्य पुनः स्थापनाको सम्भावना बलियो बनेको बताएका छन् ।

