Ad Image

सुदूरपश्चिममा काम गर्न छोडे कर्मचारी, स्थानीय सरकारको सेवा प्रभावित

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746961567.jpg

धनगढी । सुदूरपश्चिमका स्थानीय तहमा कार्यरत कर्मचारीहरूले प्रदेश सरकारसँग प्रदेश स्थानीय सेवा ऐन जारीको माग गर्दै अत्यावश्यक बाहेकका काम नगर्ने निर्णय गरेका छन् । शुक्रबार धनगढीमा आयोजित भेलाबाट कर्मचारीहरूले ‘प्रदेश संघर्ष समिति’ गठन गर्दै ऐन कार्यान्वयनका लागि दबाबमूलक कदम चालेका हुन् ।

 

संघर्ष समितिको संयोजकमा झलक दौलेल चयन भएका छन् भने मीनबहादुर खड्का र लक्ष्मी विष्ट सहसंयोजक बनेका छन् । त्यस्तै, शङ्कर जोशी सचिव, अर्जुन जोशी कोषाध्यक्ष र भरत चन्द, गगन धामी, गोपाल विष्ट, डबल भाट, अमृत कुमार ओली, शेरबहादुर कार्की, रमेशप्रसाद भट्टलगायत २० जना सदस्य चयन भएका छन् ।

 

समितिको निर्देशन अनुसार अहिले अधिकांश स्थानीय तहका कर्मचारीहरूले सेवा प्रवाहमा हात नहालेका कारण नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्रदेश सरकारले समयमै ऐन जारी नगरेसम्म आन्दोलनका कार्यक्रम क्रमशः सशक्त बनाउँदै लगिने कर्मचारीहरूको भनाइ छ ।

 

स्थानीय तहहरू दैनिक सेवा, नागरिक सरोकारका काम, सिफारिस र अभिलेख व्यवस्थापन लगायतका कार्यमा शिथिल बनेका छन् ।