पर्सामा महिलामाथि सामूहिक बलात्कार


पर्सा । पर्सामा एक महिलामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । सो घटनामा संलग्न आरोपमा एक जना पक्राउ परेका छन् भने अर्का व्यक्ति फरार रहेका छन् ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ का ५० वर्षीय दिनानाथ साह रहेका छन्, उनी हाल वीरगञ्ज उपमहानगरपालिका–१३ मा बसोबास गर्दै आएका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
गत शनिबार राती पीडित महिला एक्लै रहेको मौका छोपेर साह र अर्का एक व्यक्तिले मिलेर जबर्जस्ती बलात्कार गरेका प्रहरीले जानकारी दिएको छ ।
साहलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अर्का व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।