आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर साउद र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-८ घर भएका २१ वर्षीय ललित बोहरा रहेका छन् ।
पक्राउ परेका मध्ये प्रेम बहादुरले आयरल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४१ लाख ९० हजार रूपैयाँ र ललितले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट र ललितलाई ललितपुर महानगरपालिका-३ बाट मंगलवार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।