सतुङ्गलको आरआर कम्लेक्सको कपडा गोदाममा लागेको आगो २ घण्टापछि नियन्त्रणमा


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलस्थित आर.आर. कम्प्लेक्समा रहेको कपडाको गोदाममा आगलागी भएको छ। आज विहान ५ः२० बजे सुरु भएको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी र डीएसपी सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, मातातिर्थ प्रहरी चौकी लगायत विभिन्न निकायबाट करिब ३० जना सुरक्षाकर्मी परिचालित भएका थिए।
आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौं महानगरपालिकाबाट गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको थियो। साथै, स्थानीयबासीले उपलब्ध गराएका १५ वटा पानी ट्यांकरको पनि प्रयोग गरिएको थियो।
आगलागीबाट मानवीय क्षति भएको छैन भने वित्तीय क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागी विद्युत सर्ट भएर भएको हुनसक्ने बताइएको छ ।