Ad Image

दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747411537.jpg

लेबनान । दक्षिण लेबनानमा शुक्रबार संयुक्त राष्ट्रसंघीय (यूएन) शान्ति सेनाको नियमित गस्तीका क्रममा स्थानीयबासीले हातहतियारसहित अवरोध गरेपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । स्थानीयहरूले शान्ति सैनिकमाथि गोली र अश्रुग्यास प्रहार गरेको आरोप लगाएका छन् ।
 

संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूएनआईएफआईएल) का प्रवक्ता आन्द्रेआ तेनेन्तीले जानकारी दिएअनुसार ज्मैज्मे नगर नजिक नियमित गस्ती गरिरहेको टोलीमाथि ‘ठूलो समूह’ आक्रोशित स्थानीयहरूले लाठी र बन्चरोजस्ता हतियारसहित आक्रमण गरेका थिए ।

 

तेनेन्तीले उक्त घटना ‘स्वीकार्य नहुने’ भन्दै यस क्रममा यूएनका सवारी साधनहरूमा क्षति पुगेको जनाए । शान्ति सैनिकहरूले आफ्नो र स्थानीयहरूको सुरक्षाका लागि ‘गैर–प्राणघातक’ उपायहरू अपनाएको उनले बताए । यूएन सैनिकहरूमा कुनै चोटपटक नपरेको भए पनि ज्मैज्मे नगरका बासिन्दाहरूले जारी गरेको विज्ञप्तिमा एक जना व्यक्ति घाइते भएको दाबी गरिएको छ ।

 

स्थानीयहरूको भनाइअनुसार यूएनआईएफआईएलका गस्ती टोलीले लेबनानी सेनाको उपस्थितिबिना नगरको छेउछाउ प्रवेश गरेपछि उनीहरूलाई बाहिर जान आग्रह गरिएको थियो । तर त्यसपछि झडपको स्थिति बन्यो । तेनेन्तीले भने, “गस्ती पूर्वनियोजित र लेबनानी सेनासँग समन्वयमा गरिएको थियो ।” साथै, उनले युनिफिलको काममा अवरोध नगर्न र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरे । 

 

उक्त सहर इजरायल सिमानानजिकै पर्छ, जहाँ नोभेम्बर महिनामा भएको युद्धविराम सम्झौताअनुसार लेबनानी सेना र यूएन बलहरूले निगरानी गर्ने जिम्मेवारी पाएका छन् । यस्तो झडप प्रायः हिजबुल्लाह समर्थक र युनिफिलबीच देखिने भए पनि प्रायः ती चाँडै नियन्त्रणमा ल्याइन्छन् ।

 

सन् २०२२ को डिसेम्बरमा यस्तै एक घटनामा एक जना आयरिस शान्ति सैनिकको गोली लागेर मृत्यु भएको थियो । हिजबुल्लाहले अभियुक्तलाई सेनालाई सुम्पिएको भए पनि करिब एक वर्षमै रिहा गरिएको थियो ।

 

युनिफिलले हालै जानकारी दिएको अनुसार, नोभेम्बरको युद्धविराम सम्झौता अन्तर्गत आफ्नो सहयोगमा लेबनानी सेनाले दक्षिण क्षेत्रको ठूला भूभागमा पुनः तैनाथी गरेको छ । साथै, यूएन बलले त्यही क्षेत्रमा २२५ भन्दा बढी हतियार गोदामहरू फेला पारेको दाबी गरेको छ । तर लेबनानी सेनाको पूर्ण तैनाथी अझै अवरोधमा परेको युनिफिलले बताएको छ, किनकि इजरायली सेना फेब्रुअरीको तोकिएको म्याद सकिए पनि पाँच स्थानमा अझै उपस्थित रहेको छ ।