वाटरल्यान्ड पार्कमा तोडफोड गर्ने १० जना विद्यार्थी पक्राउ


धनुषा । धनुषाको वाटरल्यान्ड पार्कमा तोडफोड गर्ने १० जना विद्यार्थी पक्राउ परेका छन् । छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा शनिबार तोडफोड तथा झडप गर्ने १० जना विद्यार्थी पक्राउ परेका हुन् ।
वाटरल्यान्ड पार्कमा नुहाउन गएका कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले शनिबार दिउँसो पार्कमै तोडफोड गरेका छन् । वाटरल्यान्ड पार्कले विशेष छुट राखेपछि क्षमताभन्दा बढी मानिस पुगेको र तोडफोड गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ । विद्यार्थीले सडकमा गुडिरहेका दुईवटा सवारी साधन तोडफोड गरेका छन्। पार्कमा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । विद्यार्थीले ढुङ्गामुढा प्रहार गर्दा ५ जना प्रहरी समेत घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको छ ।
अहिले १० जनालाई पक्राउ गरी सीसी क्यामराको फुटेज हेरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । पार्कले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि आज विशेष छुट (९ सय शुल्क लाग्नेमा एक सय मात्र लिने) दिएपछि १५ सयभन्दा बढी विद्यार्थी पार्कमा पुगेका थिए ।