प्रचण्ड भन्छन्– हाम्रो ध्यान सरकार ढलाउने र बनाउनेतिर छैन


दैलेख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ध्यान सरकार ढलाउनेतिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए ।
जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष प्रचण्डले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गरे ।
यसबारे निरन्तर खबरदारी गरिरहेको उनको भनाइ छ । ‘बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आएको छु ।’
तराई मधेश जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले मध्यपहाडी लोकमार्ग यात्रा पनि सफल हुने बताए । मधेश आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताए ।
मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको उनले बताए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ कि भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताए ।
माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पुर्याएको उनले जिकिर गरे । अध्यक्ष प्रचण्डले भने, ‘जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका र जनताका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिन्छ । सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएका छौं ।’
मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने उनले बताए । दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उनले बसाइसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए ।
पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष प्रचण्डले बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरुको उपस्थिति रहेको थियो । यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान सुरु भएको हो ।