Ad Image

सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar2.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार आयोगले पौडेलसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि, पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध मुद्दा दायर भएको छ ।    

उनीहरुविरुद्धआर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको आरोप छ । उनीहरुमाथि जनही ५ करोड ७९ लाख बिगो दाबी समेत गरिएको छ । 


राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५/०७६ मा खरिद गरिएका मुख्य उपकरणको विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको उजुरी परेपछि आयोगले अनुसन्धान गरेर मुद्दा दायर गरेको हो । 


राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसीरजीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।