गोदावरीमा लागू औषध र बालविवाह न्यूनीकरणबारे अभिमुखीकरण तालिम सुरु


कैलाली । गोदावरी नगरपालिका–१२ को दुर्गा माध्यमिक विद्यालय, कोल्मुडा प्राङ्गणमा लागू औषध दुर्व्यसन र बालविवाह न्यूनीकरणबारे दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ । अत्तरिया विकास मञ्च नेपालले इलाका प्रहरी कार्यालय मालाखेतीको सहकार्यमा तालिम आयोजना गरेको हो ।
कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, शिक्षक, अभिभावक र सामुदायिक अगुवा सहभागी थिए । गोदावरी नगर प्रमुख वीरेन्द्र भट्टले लागू औषध र बालविवाह समाजका लागि चुनौती भएको भन्दै सामूहिक प्रयासको आवश्यकता औँल्याए ।
प्रहरी नायव निरीक्षक रण बहादुर चन्दले दुर्व्यसन रोकथाममा समुदायको सहकार्य अपरिहार्य रहेको बताए । तालिममा समूहगत छलफल, केस स्टडी र व्यवहारिक अभ्याससमेत गरिने आयोजकले जनाएको छ ।
तालिम वडा नं. १२ को आर्थिक सहयोगमा सञ्चालित हो भने आयोजक संस्था अत्तरिया विकास मञ्चका संस्थापक कृष्ण विकले यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।