एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि


काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाअध्यक्षहरूको भेला आज सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा हुने भेला बिहान ११ बजेदेखि सुरु हुनेछ । भेलाको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाअध्यक्षहरूको भेला बोलाएको हो । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरूसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तहदेखि केन्द्र तहसम्म नै रणनीति बनाउने तयारी रहेको छ ।
बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरूको भेला बोलाइएको हो । भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन् । भेला आज र भोलि सञ्चालन हुनेछ ।