Ad Image

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

User Image Mayorsap | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gosai.jpg

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । 

मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ । 

जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौँदेखि धुन्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै  गोसाईंकुण्ड पुग्न सकिन्छ । 
      
गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।  धार्मिक मान्यताअनुरूप जीवनमा एक पटक भए पनि पुग्नै पर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाईंकुण्ड पुग्ने गरेका छन् । 

विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनै पूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।  बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ ।

यात्रुहरूको वासस्थानका लागि ठाउँ ठाउँमा होटेल सञ्चालनमा छन् । अनुपम प्राकृतिक छठाले गर्दा  कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताए ।