मकवानपुरमा ब्रेक फेल भएको बसले पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ४ जना घाइते


हेटौंडा । मकवानपुरको थाहा नगरपालिका– ३ स्थित गोपाली गाउँमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । आज साँझ ७ बजेको समयमा त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा-३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिरेको थियो । बसले सडकमा हिडिँरहेका पैदलयात्रीलाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । घाइते ४ जना मध्ये अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव र कमलेशकुमार साहको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको डिएसपी अर्यालले जानकारी दिए । बस चालक मकवानपुरको थाहा नगरपालिका–५ बसन्त बस्ने २९ वर्षीय राजेश कार्कीलाई प्रहरी पक्राउ गरेको छ ।