भिजिट भिसा प्रकरण: सडकदेखि सदनसम्म गृहमन्त्री लेखककाे राजीनामा माग ! के हाेला एमाले-कांग्रेसकाे गठबन्धन ?


काठमाडौं । गत जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलसहित ट्राभल एजेन्सी, मेनपावर सञ्चालकको कार्यालयमा छापा मार्यो । महत्वपूर्ण कागजात तथा डिजिटल डिभाइस जफत गर्यो । विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गर्यो ।
अख्तियारले प्रमुख भट्टराईलाई पक्राउ गरेसँगै खुल्यो भिजिट भिषाको नाममा भइरहेको मानव तस्करीको पोल । ‘भिजिट भिसा’का नाममा सेटिङ गरेर विदेश जानेहरुबाट रकम असुल गर्ने गरेको आशंकामा अख्तियारले विमानस्थलमा छापा मारेर प्रमुख भट्टराईलाई पक्राउ गरेको थियो । सेटिङमा भिजिट भिषाको नाममा भइरहेको मानव तस्करीको लहरो गृहप्रशासनदेखि गृहमन्त्री रमेश लेखकसम्म पुगेको आशंकामा यतिबेला गृहमन्त्री लेखकको चौतर्फी आलोचना भइरहेको छ ।
गृहमन्त्री लेखकले गत असोजमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सुरेश पन्थीलाई हटाएर भट्टराईलाई उक्त जिम्मेवारी दिएका थिए । भट्टराईविरुद्ध अख्तियारमा उजुरी परेपछि गृहमन्त्री लेखकले गत जेठ ५ गते मात्र उनलाई मन्त्रालयमा तानेका थिए । त्यसपछि गृह मन्त्रालयबाट अन्य १४ जना कर्मचारीको सरुवा भएको छ । गृहमन्त्रालयले रातारात कर्मचारीको सरुवा गर्नुले पनि गृहमन्त्री लेखकमाथिको आशंका चुलिएको छ । गृहमन्त्री लेखक ती नै व्यक्ति हुन जो संसदमा मात्र नभएर बाहिरि कार्यक्रममा समेत नैतिकताका विषय उठाइरहन्थे ।
कुनै दिन सदनमा उनले आफैंले भनेका थिए, ‘मन्त्रीमाथि प्रश्न उठ्यो र राज्यको कुनै सक्षम निकायले अनुसन्धान गर्नुपर्यो भने त्यस्ता मन्त्री पदमा रहन पाउँदैनन्, नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’ आज ती नै गृहमन्त्री लेखकमाथि नैतिकताको प्रश्न खडा भएको छ । आफ्नै पार्टी नेपाली कांग्रेसका केही नेतादेखि विपक्षी दलहरुले समेत गृहमन्त्री पदबाट लेखकको राजीनामा माग गरिरहेका छन् । उनीमाथि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको समेत माग भइरहेको छ ।
गृहमन्त्रीको राजीनामामा अड्किए विपक्षी दल, चल्नै सकेन संसद बैठक
आज (मंगलवार) बिहान बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले भिडिज भिसा प्रकरणमा आफ्नो धारणा राख्ने समय माग गरेका थिए । तर संसद सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले संसद अवरुद्ध गरे । नाराबाजी गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरे । संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले नेकपा विपक्षी दलका सांसदहरु माओवादी केन्द्रबाट वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद शिशिर खनाललाई बोल्ने समय दिए । दुवै सांसदको एउटै आवाज थियो, ‘गृहमन्त्रीको राजीनामा नआए संसद चल्न दिँदैनौं ।’
सांसद पुनले त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा प्रकरण राजनीतिक नेतृत्वको सहयोगबिना सम्भव नरहेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरे । उनले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखे । पुनले भने, “विभिन्न बैठकमा ेउहाँ (लेखक) धेरै नैतिकताको कुरा उठाउनुहुन्छ । विभिन्न सुरक्षा, अनुसन्धान निकाय उहाँको मातहतमा छ । त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दिनुस् । अहिले नै उहाँ दोषी भन्दैनौँ । नभए संसद् चल्दैन ।”
खनालले गृहमन्त्री लेखकले राजीनामा सँगै उभिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न समेत माग गरे। सांसद खनालले भने, ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ । आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं। संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन।’
वर्षमान पुन र शिशिर खनालपछि अन्य विपक्षी सांसदले पनि बोल्ने समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले सत्तापक्षीय सांसद श्याम घिमिरेलाई बोल्न दिएपछि विपक्षीले नाराबाजी सुरु गरे । सभामुखको आग्रह समेत नमानी गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरुले नाराबाजी गरेर सांसद घिमिरेलाई बोल्नै दिएनन् । त्यसपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे । पछि साढे २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको बैठक विपक्षी दलका सांसदहरुको अडानका कारण सुरु नै हुन सकेन् । सभामुखले दलका प्रमुख सचेतकहरुसँग संसद सञ्चालनका लागि छलफल गरेपनि सहमति नभएपछि बुधवारसम्मका लागि आजको बैठक स्थगित भयो ।
नेकपा माओवादी केन्द्रको सोमवार बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेर संसदमा कुरा उठाने निर्णय गरिसकेको थियो । सोमबार नै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले संसद बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्ने निर्णय गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न मंगलवार बिहान संसदीय दलको बैठक राखेर निर्णय गरेको थियो ।
संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले मंगलवार बिहानै छलफल गरेर गृहमन्त्री लेखकको राजीनामा माग गर्ने निर्णय गरेका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी, रास्वपा, राप्रपा र सत्तारूढ जसपा नेपालले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीकै सचिवालयको संलग्नता देखिएकाले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष सहित आजको बैठकमा राजीनमामा माग गर्ने निर्णय भएको थियो । गृहमन्त्री लेखकले राजीनामा नदिए प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने तयारी विपक्षी दलले बिहानैदेखि गरेका थिए । विपक्षी दलका सांसदहरुको अडानका कारण आजको संसद बैठक सुरु भएको केही समयमै स्थगित भयो । सभामुखको दिनभरको प्रयासका बाबजुत आजको बैठक सुचारु हुन सकेन् ।
सदनसँगै सडकबाट समेत गृहमन्त्रीको राजीनामा माग
गृहमन्त्रीको राजीनामाको माग यतिबेला सदनमा मात्र होइन् सडकमा समेत चर्किरहेको छ । मंगलवार विभिन्न विद्यार्थी संगठनले माइतीघर मण्डलामा गृहमन्त्रीको राजीनामा माग गर्दै संयुक्त प्रदर्शन गरेका छन् । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिस्ट लिगलगायत संगठनमा आबद्ध विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको दाबी समेत गरेका छन् । उनीहरुले केपी शर्मा ओलीको सरकारले अख्तियार दुरुपयोग गर्दै मानव बेचबिखन र देशद्रोहमा मुछिएका गृहमन्त्री लेखकलाई पदबाट बर्खास्त गरेर कार्बाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप समेत लगाएका छन् ।
गृहमन्त्रीको बचाउमा कांग्रेस–एमाले
भिजिट भिसा प्रकरणमा चौतर्फी गृहमन्त्री माथि प्रश्न उठिरहेको छ । सडकदेखि सदनसम्म गृहमन्त्रीको राजीनामा माग भइरहँदा समेत सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले भने गृहमन्त्री लेखको बचाउमा लागेका छ ।
गत आइतवार बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरुको बैठक थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उक्त बैठकमा गृहमन्त्री लेखकको राजीनामाको आवश्यकता नरहेको निष्कर्ष निकालियो । त्यति मात्र होइन् संसदमा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध आए के जवाफ दिएर कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।
आइतवार नै भएको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणको विषयमा बोल्दै कर्मचारीले गल्ती गर्दैमा मन्त्री भागिदार हुन नसक्ने भनेर गृहमन्त्रीको बचाउ गरे । उनले भने, ‘मन्त्रालयको कर्मचारीले गलत काम गर्दैमा मन्त्री भागिदार हुनु हुँदैन । कुनै कर्मचारीले गल्ती गर्यो भने राजीनामा दिँदै हिड्ने हो भने मन्त्रालय चल्दैन । दोषी यदि देखिनु भयो भने कानुनी रूपमा कार्बाही हुन्छ । अहिले नै उहाँलाई दोषी भन्न मिल्दैन ।’
सोमवार बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको भन्दै राजीनामा दिन आवश्यक नभएको निष्कर्ष निकाल्यो । सत्तारुढ दलका केही नेताहरुले व्यक्तिगत रुपमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारणा दिएपनि पार्टीगत रुपमा भने गृहमन्त्रीको बचाउ भइरहेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला, कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायतले गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।
तर पार्टीभित्रैबाट गृहमन्त्रीको राजीनामा माग गर्ने नेताहरुलाई स्पष्टीकरण सोध्ने सम्म तयारी भएको बुझिएको छ । गृहमन्त्रीमाथि नैतिकताको प्रश्न उठिरहेको छ । चौतर्फी राजीनामाको माग भइरहेको छ । सडक र सदन दुवै गृहमन्त्रीको राजीनामा मागको विषयले तातिएको छ । तर कांग्रेस र एमाले गृहमन्त्रीको बचाउमा लागिपरेको देख्दा भ्रष्टाचारको पक्षपोषण सत्ताबाटै भइरहेको विपक्षीहरुको मात्र होइन् आम नागरिकको बुझाइ छ ।