बहुप्रतिक्षित निजामती विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची


काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन भोलि (बुधवार) प्रतिनिधिसभामा पेश हुने भएको छ। बुधबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीको चौथो नम्बरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्ने उल्लेख गरिएको छ । खतिवडाले बुधवार बिहान ११ बजे बस्ने २० औँ बैठकमा यो विधेयक पेश गर्ने कार्यसूची छ ।
मुलुक संघीयतामा गएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि सार्वजनिक प्रशासनलाई मार्गदर्शन गर्ने संघीय निजामती सेवा ऐन निर्माण हुन नसक्दा संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । यो ऐनलाई संघीयताको प्रमुख आधारका रूपमा लिइन्छ।
मुख्यसचिव एकनारायण अर्याल सहित सरकारका सचिवहरूले नै विधेयकमा समितिले राखेको २ वर्षे कुलिङ पिरियड हटाउनुपर्ने माग गर्दै आएका छन् । यद्यपि समितिका सभापति खतिवडाले समितिबाट पारित भइसकेको २ वर्षे कुलिङ पिरियड कायमै रहने बताइसकेका छन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आज प्रतिनिधिसभा बैठक अवरुद्ध गरे । माओवादी केन्द्र लगायतका दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएकाले प्रतिवेदन पेश हुन्छ वा हुँदैन अहिले नै भन्न सकिने अवस्था छैन ।