Ad Image

म्याग्दीमा सेवा निवृत्त शिक्षकले खोले हाते कागज उद्योग

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kagaj-udhog.jpg

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका सेवा निवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याएका छन् । ४१ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि गौतमले मालिका गाउँपालिका–५ थापा चौरमा जग्गा भाडामा लिएर ‘मालिकाका गज उद्योग’ सञ्चालनमा ल्याएका छन् ।

एक दशकअघि सामूहिक रुपमा सुरु भएको कागज उद्योग घाटामा गएपछि बन्द भएको थियो । ६ वर्षदेखि उद्योगको सबै स्वामित्व लिएर मालिका गाउँपालिका–३ अधिभारामा हाते कागज उत्पादनलाई निरन्तरता दिएका गौतमले शिक्षण पेसाबाट सेवा निवृत्त भएपछि अहिले नयाँ व्यवस्थापन र उत्पादन क्षमता बढाएर उद्योगलाई नयाँ स्वरुपमा सञ्चालनमा ल्याएको बताए ।

‘‘थापाचौरमा पाँच रोपनी जग्गा भाडामा लिएर गोदाम घर, प्रशोधन केन्द्र र कागज सुकाउनका लागि टनेल घर बनाएको छु, फ्रेममा राखेको कागज सुकाउनका लागि टनेल घर बनाएपछि पानी परेको समयमा कागज उत्पादन गर्न सकिने सुविधा भएको छ, पूर्वाधार विस्तारले उद्योगबाट कागज उत्पादन गर्ने क्षमता बढेको छ’’, गौतमले भने ।

जङ्गलमा पाइने बरुवाको लोक्तालाई प्रशोधन गरेर हाते कागज बनाउने गरिन्छ । उद्योगमा मालिका गाउँपालिका–२ रुम र ३ डाँडागाउँका चार सामुदायिक वनबाट उपभोक्ताहरुले बरुवाको लोक्ता सङ्कलन गरी बिक्री गर्दै आएका छन् । सङ्कलन कर्ताबाट उद्योगले रु प्रतिकिलो ८० देखि रु एक सय सम्ममा लोक्ता खरिद गर्दै आएको छ । उद्योगले कागजको प्रयोजनअनुसार धुप बनाउनका लागि ७ ग्राम, कार्यालय प्रयोजनका लागि २० ग्राम र चिना लेख्ने नेपलाी कागज ४० ग्रामको गुणस्तरमा उत्पादन गर्दै आएको छ ।

उद्योगमा उत्पादन भएको हाते कागज म्याग्दीका साथै, बागलुङ, कास्की र काठमाडौँसम्म खपत हुने गरेको छ । उद्योगमा बाटेको धुप बनाउने, कार्यालय प्रयोजनका लागि फोटोकपी पेपर, चिना, तमसुक र निवेदन लेख्ने प्रयोजनका लागि हाते कागजको माग आउने गरेको सञ्चालन गौतमले जानकारी दिए ।

उद्योगमा लोक्तालाई प्रशोधनका लागि विद्युतियबोयल, बिटर र कटिङ मेसिन जडान गरिएको छ । ‘‘लोक्ताबाट कागजबनाउने परम्परागत र रैथाने सिप हो, जंगलमा खेर गएको लोक्ताको उपयोग गरी स्थानीय स्तरमा आयआर्जन र रोजगारी बढाउनु मेरो प्रमुख उद्देश्य हो, कागज किन्नकै लागि बाहिरिने पैसालाई स्थानीय स्तरमै रोक्न सकिन्छ कि भन्ने लागेर यता लागेको छु’,’ उनले भने ।

विसं २०७६ देखि एकल रुपमा हाते कागज उद्योग सञ्चालन गर्दै आउनुभएका गौतमको उद्योगमा अहिले दैनिक पाँच जनाले रोजगारी पाएका छन् । गौतम दम्पत्ति उद्योग स्थापना गरेर स्वरोजगार बनेका छन् । एकै पटक छ सय फ्रेममा कागज उत्पादन गर्ने क्षमता रहेको यस उद्योगमा रङ्गीन नेपाली कागज उत्पादन गर्न थालिएको छ ।

मेसिन, औजार उपकरण र सामग्री खरिद तथा व्यवस्थापनमा रु २५ लाख लगानी भएको उद्योगका सञ्चालन गौतमले जानकारी दिए । उद्योगबाट वार्षिक १५ लाख बढीको कागज बिक्री हुने गरेको छ । गौतम परिवारले दरबाङ बजारमा मालिका हेन्डिग्राफ स्टोर्स सञ्चालन गरेर उद्योगबाट तयार हुने हाते कागजबाट नोटबुक, रजिष्टर, फाइल, खामलगायत सामग्री उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

मालिका कागज उद्योगको स्तरीकरणमा गाउँपालिका र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले सघाएका छन् । यस वर्ष मन्त्रालयले हाते कागजलाई अन्तिम रुप दिने क्यालेण्डिङ मेसिन खरिदमा रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको छ । मालिका गाउँपालिकाले हाते कागज उद्योगमा कागज सुकाउनका लागि टनेल घर निर्माण, ट्रसको छानो निर्माण र पानी व्यवस्थापनमा रु दुई लाख ५० हजार सहयोग गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।

गाउँपालिकाले स्थानीय स्तरमा उद्यमशिलताको विकासमा गाउँपालिकाले सीप, प्रविधि र पूर्वाधार निर्माणमा सघाउने गरेको बताए । यस उद्योगले जिल्लामा रहेका स्थानीय तह र सरकारी कार्यालयले प्रयोग गर्ने नेपाली कागज जिल्लामै उत्पादन भएको कागजलाई उपयोग गर्ने नीति ल्याएमा उद्योगको क्षमता विस्तार गर्ने र धेरैलाई रोजगारी सिर्जना गर्न सकिने जनाएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाका साथै, धवलागिरी, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको दुई हजार चार सय मिटरदेखि तीन हजार दुई सय मिटर चाईसम्मको जङ्गलमा प्रशस्त मात्रामा बिरुवा पाइने गर्छ । एक पटक बिरुवाको लोक्ता निकालेपछि पुनः पाँच वर्षपछि सोही बिरुवाबाट लोक्ता निकाल्न सकिन्छ ।

म्याग्दीमा यसअघि हाते कागज उद्योग सञ्चालनमा आउने र बन्द हुने क्रम जारी छ । वन पैदावारमा आधारित उद्योग भएकाले कच्चापदार्थ सङ्कलन, उद्योग सञ्चालनदेखि उत्पादन भएका सामग्रीको निर्यातमा झण्झटीलो कानुनी प्रक्रियाको कारण हाते कागज उद्योगको स्थायित्व र दिगोपनामा चुनौती देखिएका छन् ।