विदेशी विद्यार्थीको नयाँ भिसा आवेदन रोक्न दूतावासहरूलाई अमेरिकाको आदेश


काठमाडौं । अमेरिकाले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशमा रहेका आफ्ना दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा आवेदनहरू अस्थायी रूपमा रोक्न आदेश दिएको हो । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीति लिएको छ ।
अमेरिकाले अब आवेदकहरूको सामाजिक सञ्जालको गहन छानबिनको प्रक्रिया पनि सुरु गर्ने बताएको छ। सोही प्रक्रियासँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो ।
चिनियाँसँग साँठगाँठ गरेको र यहुदी विरोधी गतिविधि बढाउन भूमिका खेलेको आरोप लगाउँदै ह्वाइटहाउसले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । यद्यपि एक संघीय न्यायाधीशले उक्त निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन् । यसले ट्रम्प प्रशासन र केही अमेरिकी विश्वविद्यालयबीच जारी विवादमा नयाँ मोड ल्याएको छ। धेरै अमेरिकी कलेज सरकारी कोषका लागि विदेशी विद्यार्थीमा निर्भर छन्।