सिद्धलेक गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको हाजिरी अस्वीकार
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले मन्त्रालयसँग समन्वय नगरी अधिकृत पठाइएको भन्दै दाहाललाई हाजिर नगरी फिर्ता पठाएका हुन्।
No Author Assigned | २०८१ असोज ६ गते २३:०७
धादिङ । सिद्धलेक गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हेमनाथ दाहाललाई हाजिर गराउन अस्वीकार गरेको छ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले मन्त्रालयसँग समन्वय नगरी अधिकृत पठाइएको भन्दै दाहाललाई हाजिर नगरी फिर्ता पठाएका हुन्। दाहाललाई १७ भदौमा सरुवा गरिए पनि २८ भदौमा उनी गाउँपालिकामा हाजिर हुन पुगेका थिए। तर, अध्यक्ष खतिवडाले उनलाई हाजिर गराउन अस्वीकार गरेपछि दाहाल मन्त्रालय फिर्ता भएका छन्।
गाउँपालिकाले यसअघि पनि लगातार ७ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिसकेको छ। ६ महिना अघिमात्र लिखु तामाकोसी गाउँपालिकाबाट सरुवा भएर आएका बिनोद कुमार अधिकारीलाई हटाएर अध्यक्ष खतिवडाले शिवराम अधिकारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका थिए।
हाल मन्त्रालयले दाहाललाई पठाएपछि पनि अध्यक्ष खतिवडाले शिवराम अधिकारीलाई २५ भदौमा नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदस्थापन गराइसकेका थिए। यस घटनापछि संघीय मामिलाले अध्यक्ष खतिवडाले निमित्त अधिकृतलाई दिएको आर्थिक अधिकार रद्द गरेको स्रोतले जनाएको छ। अध्यक्ष खतिवडा निर्वाचित भएदेखि हालसम्म गाउँपालिकामा ८ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्।
Facebook Comments