Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निजी क्षेत्रसँग वार्षिक १६ खर्ब रुपैयाँ पूँजी निर्माण गर्ने क्षमता छ : अध्यक्ष ढकाल

‘निर्यातमा ९८ प्रतिशत योगदान रहेको निजी क्षेत्र सँधै जोखिममा’

User Image मेयरसाप डेस्क | २०८१ चैत २६ गते १७:५७
Image of storage/news/1744287141.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग वार्षिक १६ खर्ब रुपैयाँ पूँजी निर्माण गर्ने क्षमता भएको बताएका छन् । महासंघको ५९औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले वार्षिक १६ खर्ब रुपैयाँको पूँजी निर्माण गर्न सक्ने क्षमता राख्ने दाबी गरेका हुन् ।

 

उनले भने, ‘निजी क्षेत्र वार्षिक १६ खर्ब रुपैयाँको पूँजी निर्माण गर्न सक्ने क्षमता राख्छ । सरकारले चार खर्ब मात्रै लगानी गरे पुग्छ । दोहोरो अंकको वृद्धि सम्भव छ । वर्षमा लाखौँ जनशक्तिलाई मर्यादित रोजगारी दिन सकिन्छ । यसको पहिलो शर्त हो, स्थायित्व ।’

 

अध्यक्ष ढकालले आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने धारणा समेत राखेका छन् । उनले निजी क्षेत्रले आफैं योजना ल्याउने र मिलेर कसरी काम गर्न सकिन्छ भनेर छलफल गर्नुपर्ने बताए । त्यसैगरी उनले ८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान पुर्याउने निजी क्षेत्र निरन्तर अपहेलित भएको गुनासो समेत गरेका छन् । उनले रोगजारी प्रदानमा ८६ प्रतिशत, राजश्वमा ८० प्रतिशत, निर्यातमा ९८ प्रतिशत योगदान रहेको निजी क्षेत्र सँधै जोखिममा रहेको आरोप लगाएका छन् ।

 

सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । उनले भने, ‘अन्तराष्ट्रिय वित्त निगम र महासंघले गत वर्ष गरेको अध्ययनले पनि अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखाएको छ । त्यसैले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्छ ।’

 

उनले निजी क्षेत्रको महत्वलाई बुझ्ने देशले तीव्र गतिमा प्रगति गरेको दाबी गरेका छन् ।  बंगलादेश, रुवान्डा, क्याम्बोडिया, भियतनाम, लाओसको उदाहरण दिँदै अध्यक्ष ढकालले नेपाल जस्तै आर्थिक अवस्था भएका यी देश नेपालभन्दा धेरै अगाडि पुगेको बताए । उनले भने, ‘हामी जस्तै मुलुक बंगलादेशको निर्यात सन् २०१० यता १८ अर्बबाट ४० अर्ब डलर पुगेको छ । तीस वर्षअघि सय दिनको अवधिमा आन्तरिक द्धन्दका कारण ८ लाख मानिस गुमाएको रुवान्डामा २० वर्षयताको आर्थिक वृद्धिदर ७.२ प्रतिशत छ । हामीसंगै एकैदिन विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियामा प्रत्यक्ष वैदेशिक लगानी नेपालभन्दा दश गुणा बढी भित्रिने गरेको छ । यदि यी देशले सक्छन् भने हामी किन सक्दैनौं । अरु अगाडि बढन सक्छन् भने हामी कहाँ अल्मलिएका छौं ? यी विषयहरु पहिल्याउनुपर्छ ।’

 

अध्यक्ष ढकालले अविकसित भएर अभाव र गरिबीमा बस्न नहुने भन्दै स्थानीय आवश्यकता र विश्व परिवेश नियालेर नीति निर्माणमा प्रक्रियागत सुधारका लागि महासंघका सबै संयन्त्र प्रयोग गर्ने बताए ।

 


Facebook Comments