यातायात व्यवसायीसँग झुकेर सरकारले सिन्डिकेटलाई संरक्षण गरेको सांसदको आरोप

काठमाडौं । सांसद प्रकाश ज्वालाले सोमवार मध्यरातमा यातायात व्यवसायीहरुसँग भएको सहमतिबाट यातायात क्षेत्रमा सिन्डिकेट लागू भएको आरोप लगाएका छन् । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेक सांसद ज्वालाले यातायात व्यवसायीहरुसँग झुकेर सरकारले सिन्डिकेटलाई संरक्षण गरेको आरोप लगाएका हुन् ।
मंगलवार बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले जनताले आफ्नो चाहाना अनुसारका साधन प्रयोग गर्न पाउनु पर्ने बताए । उनले निश्चित वर्गको फाइदाका लागि मात्र सरकारले काम गरेको आरोप लगाए ।
उनले गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएर ठिकै गरेको बताए । उनले भने, ‘हामी कतातिर जाँदै छौँ । पहिला तोडेको सिन्डिकेट फेरि कायम गरियो । सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ ।’
‘सार्वजनिक यातायातलाई कम्पिटिसन गर्न नदिने त । अहिले राइड सेयरिङले धेरै सहज भएको छ । मान्छेलाई सुविधा चाहियो । यो सहमति आपत्तिजन्य छ । यसले पब्लिकलाई ठुलो समस्या पार्छ’ सांसद ज्वालाले भने ।
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमवार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको छ।