व्यवस्थित शहर बनाउन मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह


कैलाली । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२ शहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताए । उनले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिए ।
उनले भने, “सहरी विकास नीति मन्त्रिपरिषद्बाट पारित भइसकेपछि अब त्यसलाई संसद्मा लैजान विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ ।” सहरी विकास ऐन आइसकेपछि शहरको व्यवस्थित रुपमा विकास गरिने उनले बताए । राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले० को संयुक्त सरकार बनेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे ।
कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको उनले बताए । “अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठीक होइन”, उनले भने ।