केन्द्रको हस्तक्षेपमा बन्धक बन्दै वाईसीएल सम्मेलन, झडप हुने सम्भावना बढ्दो


काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को सम्मेलन लम्बिँदै जाँदा विवादको सम्भावना बढेको छ । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर आफ्ना निकटका उम्मेदवारलाई सहमतिको नाममा चयन गर्न खोजेको भन्दै अन्य पदाधिकारीहरु रुष्ट भएका छन् ।
तीन दिनका लागि तय भएको सम्मेलन आज ५ औं दिन हुँदा पनि अन्योलमा परेपछि पदाधिकारीहरूबीच आशंका र असन्तुष्टि चुलिँदै गएको हो ।
सम्मेलनमै भएका पदाधिकारीहरूले नाम नखुलाउने सर्तमा दीपशिखाले आफ्ना निकट व्यक्तिहरुलाई वाईसीएलका प्रमुख पदहरुमा चयन गर्न सम्मेलन लम्ब्याई रहेको आरोप लगाएका छन् ।
निर्वाचनको माग गर्ने र फरक मत राख्नेहरूलाई सम्मेलनमा दीपशिखाले बोल्न नदिएको आरोप समेत लागेको छ ।
देशभरबाट आएका पदाधिकारीलाई सम्मेलन लम्ब्याएर गलाउने नीति दिपशिखाले लिएको एक पदाधिकारीले आरोप लगाए । भोलिसम्म पनि पदाधिकारी चयनमा सम्मेलनले निकास नदिए झडप हुन सक्ने सम्भावना बढेको ती पदाधिकारीले बताए । सम्मेलनमा गएको तीन दिनदेखि चुनावको तालिका बन्दै सर्दै आएको छ । आज पनि निर्वाचनको तालिका सार्वजनिक भएको छ ।
केही पदाधिकारी यो निर्वाचनको तालिका पनि सर्ने बताउँछन् । स्रोतले दीपशिखाले देशभरबाट आएका पदाधिकारीलाई सहमतिमा आउन बाध्य पार्ने रणनीतिअनुसार निर्वाचन तालिका बनाउने र सार्ने गरिरहेको जनाएको छ । तर दीपशिखा पक्षले भने यस्ता विषयको खण्डन गरेको छ । भोलि बिहानसम्म सहमति नजुटे निर्वाचनमै जाने तयारी रहेको दिपशिखा निकट एक पदाधिकारीले जानकारी दिए ।
निर्वाचनको विपक्षमा रहेको पार्टी हेडक्वाटर र सहमतिमा नेतृत्व गराउन खटिएका वाईसीएल इन्चार्ज दीपशिखा र अध्यक्ष सुवोध शेर्पाली दुवै पार्टी अध्यक्ष प्रचण्ड निकट भएकाले चुनाव हुने सम्भावना नदेखिएको सम्मेलन स्थलमा रहेका एक पदाधिकारीले बताए ।
वाईसीएलको अध्यक्षका लागि १३ जना आकांक्षी छन् । उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग लगायत अध्यक्षको आकांक्षी छन् । अध्यक्षको दाबीकर्ताहरुमा कुँवर, ओली, ऐर, शाही र पुलामीको नाम बढी चर्चामा छ ।
वाईसीएलका नेताहरुका अनुसार दीपशिखा र शेर्पालीको मिलेमतोमा नयाँ कमिटी आउने आशंका संगठनभित्र छ । दीपशिखाले हालका उपाध्यक्ष केहरसिंह कुँवरलाई अध्यक्ष बनाउने चाहेको संस्थापन पक्षकै वाईसीएलका एक नेताले दाबी गरे । उनले भने, ‘केहरसिंहलाई अध्यक्ष, कर्म पुलामीलाई उपाध्यक्ष र गणेश शाहीलाई महासचिव बनाएर दीपशिखाले नयाँ नेतृत्व ल्याउन खोज्छन् । उनले भनेकै जस्तो सबै नहुने हुँदा सुवोधले चाहेका व्यक्तिहरु पनि मिलाएर कमिटी ल्याउँछन् ।’
उपाध्यक्षका लागि १० जना बढीले दाबी गरेका छन् । उपाध्यक्षमा अखिल शाही, नवीन खड्का, मनिषा चदारा, रीतमान पुन, सुनील सुनार, मोहित विक, अनु कुँवर, शर्मिला तामाङ, अर्जुन साउद, अविलास लामा लगायत इच्छा राखेका छन् । अनन्त प्रकाश श्रेष्ठ, शिला नेपाल, साजन अधिकारी लगायतले उपमहासचिव पदको दाबी गरेका छन् ।
महासचिव पदमा विपिन आचार्य, हरि ढकाल, सन्तोष पनेरु, शिव बोगटी, धनकुमार मैनाली, कुमार आचार्य, शंकर पौडेल र शोभाराम भण्डारी गरी ८ जनाले दाबी गरेका छन् । राजीव गिरीले कोषाध्यक्ष पदको आकांक्षा राखेका छन् । अहिले वाईसीएलमा ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति छन् ।