सप्तरीमा डाँका समूहद्वारा गोली हानेर एक जनाको ह*त्या, एक जना घाइते


काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा डाँका समूहले गोली हान्दा एक जनाको हत्या भएको छ । मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको हो ।
शुक्रबार बिहानको राति करिब १ बजे भएको घटनामा कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
४–५ जनाको समूहमा आएका डाँकाले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए । सुरुमा कान्तालालमाथि धारिलो हतियार प्रहार भएको थियो । घाइते भएका कान्तालाललाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका छन् । डाँका समुहले उक्त घरबाट पाँच तोला सुन, दुई केजी चाँदी र केही नगद समेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका फेला पारेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।