जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ


काठमाडौं । काठमाडौं र पोखरामा होटल र रेष्टुरेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानबाट १४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३, सामाखुसी रानीबारीस्थित खुसी किचेन रेष्टुरेन्ट मा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले शनिबार साँझ होटल सञ्चालक ५८ वर्षीय डम्बर लामा सहित ९ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले घटनास्थलबाट नगद ६२ हजार ८ सय रुपैयाँ र तीन बुक तास बरामद गरेको छ ।
त्यसैगरी, पोखरा महानगरपालिका–५, प्रस्याङस्थित साथीभाई खाजा घर मा पनि जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोही महानगरपालिका–१८ सराङकोट निवासी ३४ वर्षीय महेश तिमिल्सिना सहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरूबाट नगद २५ हजार २ सय ७५ रुपैयाँ र तीन बुक तास बरामद गरेको छ ।
दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।