प्रचण्डले भने– भिजिट भिसा प्रकरणमा कांग्रेस लचक भएन


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्न नेपाली कांग्रेस लचक नभएको आरोप लगाएका छन् ।
नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटबारे ब्रिफिङ दिँदै आफू विपक्षी दलहरूको म्यान्डेट लिएर देउवालाई भेट्न गएको स्पष्ट पारे ।
प्रचण्डका अनुसार भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा माओवादी केन्द्र लचक देखिएको छ । उनले संसदीय समिति, वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठनजस्ता प्रस्तावहरू अघि सारे पनि देउवाले अख्तियारले छानबिन गरिरहेको भन्दै अस्वीकार गरेका हुन् ।
विपक्षी दलहरूको बैठक लम्बिँदा र कांग्रेस–माओवादीबीच संवाद चलिरहँदा प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको छ । दिउँसो १ बजेका लागि तोकिएको बैठक सवा ३ बजेका लागि सारिएको भए पनि बैठक बस्न सकेको छैन् ।