Ad Image

संघीय अस्पतालमा २ हजार बढी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Health.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेकामा अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएका थिए ।  

यसका लागि मन्त्रालयका सहसचिव ऋषि आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले दुई हजार १०२ जनशक्ति थप गर्न सकिने गरी सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको सङ्ख्या अधिक छ ।

पाँच वर्षसम्म हरेक वर्ष जनशक्ति थप्ने गरी तयार पारिएको सङ्गठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा ७७७ जनशक्ति थप्नुपर्ने जनाइएको छ । यस्तै, वीरअन्तर्गतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिने उल्लेख छ । यसैगरी कान्ति बाल अस्पतालमा ७८, परोपकार प्रसूति तथा स्त्री रोग  अस्पतालमा १७३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३१७ स्वास्थ्य जनशक्ति थपिने छन् ।

यीबाहेक कोशी अस्पतालमा १७२, नारायणी अस्पतालमा ३१८ तथा भेरी अस्पतालमा १७९ जनशक्ति थप हुनेछन् । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा १४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले ४६५ जनशक्ति पाउनेछ । डडेल्धुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी सङ्गठन संरचना गरिएको छ ।

आज प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा चाप अत्यधिक भए पनि लामो समयसम्म जनशक्ति थप नहुँदा सेवा दिन कठिनाइ भइरहेको र यस कार्यले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

जनशक्ति पूर्तिपछि विभिन्न अस्पतालमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ । विसं २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रूपमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण हुन सकेको थिएन । यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।