इजरायलमा रहेका नेपालीका लागि २४ घण्टा ‘हटलाइन सेवा’ सञ्चालन


काठमाडौं । इजरायल र इरानबीचको बढ्दो तनावका कारण उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली राजदूतावासले २४ घण्टा ‘हटलाइन सेवा’ सञ्चालनमा ल्याएको छ ।
दूतावासले इजरायलका विभिन्न स्थानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको सुरक्षा र हितका लागि सतर्कता अपनाउँदै आवश्यक सम्पर्क तथा सहयोगका लागि आफ्ना कर्मचारीहरूको फोन नम्बर सार्वजनिक गरेको हो ।
राजदूतावासद्वारा जारी सूचनामा भनिएको छ, “वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कुनै पनि आपत्कालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। नेपाली नागरिकहरूलाई शान्त, सतर्क र सूचित रहन दूतावासले आग्रह गर्दछ ।”
राजदूतावासले इजरायलस्थित सम्पूर्ण नेपाली समुदायलाई आवश्यक परेमा तुरुन्त सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यसअघि पनि विभिन्न संकटका समयमा दूतावासले यस्ता हटलाइन सेवा सञ्चालन गर्दै नेपालीको सुरक्षामा सहयोग पुर्याउँदै आएको थियो ।