Ad Image

वडाध्यक्ष न्यौपानेमाथि भएको आक्रमणप्रति हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Photo1.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपाने माथि भएको संघातिक आक्रमणप्रति हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार दिउँसो वडाध्यक्षको कार्यकक्षमा पसेर एक समूहले उनलाई शारीरिक रूपमा आक्रमण गर्नुका साथै दुई थान मोबाइल समेत लुटपाट गरेको थियो । घटनापछि उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी यस्ता आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ ।

नगर प्रमुख मिना लामाले जनप्रतिनिधिमाथिको आक्रमणले उनीहरूको मनोबल गिराउने भन्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कार्बाहीको माग गरिन् । उनले यस्ता लुकिछिपी गरिने आक्रमणहरूलाई राजनीतिक गतिविधि नभई अराजक क्रियाकलापको संज्ञा दिइन् । 

वडाध्यक्ष न्यौपानेले पनि आफूलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको भन्दै संलग्न समूहलाई चाँडो पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरे ।

उपमहानगरले संघीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीलाई कार्बाही गर्न, पत्रकारिताको नाममा भइरहेका यस्ता गतिविधिमा नियन्त्रण गर्न तथा संलग्न पक्षविरुद्ध प्रचलित कानुनअनुसार कडा कार्बाही गर्न आग्रह गरेको छ ।