Ad Image

ग्वार्को ओभरपासको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने–देशमा बहुआयामिक र चौतर्फी विकास गर्दैछौं

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news865771..jpg

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को ओभरपासको उद्घाटन गर्दै देशमा बहुआयामिक र चौतर्फी विकास गरिरहेको दाबी गरेका छन् । 

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो ओभरपास निर्माण भएर उद्घाटन हुनु खुसीको कुरा भएको भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको समेत दाबी गरे । 

 उनले देश लगातार विकासको बाटोमा अगाडि बढेको बताएका छन् । “हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ’, प्रधानमन्त्री ओलीले भने, “यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।’

सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने समेत दाबी गरे ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताए।