नागार्जुन नगरपालिकाका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित भेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले निलम्बित मेयर बस्नेतलाई शुक्रबार दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३३ रुपैयाँ घुस लिएको र उक्त घुस प्रतिवादी बस्नेतले शुद्धीकरण गरेको ठहर गरेको हो ।
अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष कँडेललाई पनि उक्त प्रकरणमा घुस लेनदेनमा दोषी ठहर गरेको छ । उनलाई अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा भने सफाइ दिएको छ ।
उनीविरुद्ध के सजाय हुने भन्नेबारे आदेश गर्न भने विशेष अदालतले असार १६ गतेलाई पेसी तोकेको छ। घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेत, पत्नी उर्मिलासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
यस मुद्दामा मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने अदालतले सफाइ दिएको छ । उनले घुस लिएर खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिलमा संलग्न प्रमाणबाट पुष्टि हुन नआएकाले सफाइ पाउने निर्णय विशेषले दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर १४ पुस २०८१ मा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो ।