Ad Image

अपांग किसानलाई हेटौंडा उपमहानगरको सहयोग, अनुदानमा दियो बाख्रा र बंगुर

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/htd1.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रको विभिन्न वडामा बसोबास गर्दै आएका ३३ अपांगता भएका किसानलाई कृषि व्यवसाय प्रवर्धनका लागि सहयोग गरेको छ ।

अपांगतको क्षेत्रमा काम गरिरहेको अपांग सरोकार केन्द्रसँगको समन्वयमा उपमहानगर क्षेत्रमा रहेका परिवारलाई बाख्रा, बंगुर र माहुरी घार सहयोग गरेको हो ।

कृषि व्यवसाय प्रवर्धन कार्यक्रम अन्तरगत उपमहानगरका मेयर मीनाकुमारी लामाले २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरीको घार र २ परिवारलाई बंगुर वितरण गरेको सरोकार केन्द्रका अध्यक्ष गणेशचन्द्र दवाडीले जानकारी दिए ।

व्यवसाय प्रवर्द्धन कार्यक्रममा मेयर लामाले बिउ पूँजीको रुपमा उपमहानगरले सहयोग गरेको बताइन् । यसले व्यवसाय विस्तारको लागि सहयोग पुग्ने भन्दै अब आफूलाई दिगो आय हुने गरी काम गर्न सुझाब दिइन् ।

उनले बिउलाई मास्ने होइन बिस्तार गर्दै लैजानु पर्नेमा जोड दिइन्  । शारीरिक रुपमा अशक्त भएपनि घरमै रहेर दिगो आयआर्जनको पाटोमा जुटेकोमा खुशी व्यक्त गर्दै मेयर लामाले उपमहानगर सधै सहयोगीको भुमिकामा रहने बताइन् ।

कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष दवाडीले यसअघि कार्यक्रम १ नम्बर वडामा तय गरेको भएपनि पछिल्लो पटक जनप्रतिनिधि माथि भएको आक्रमणका कारण असुरक्षित महसुस गरेर वडा नम्बर ५ को पिप्ले क्याम्पा रंगशालामा सारेका बताए ।  

उनीहरुले ९६ वटा बाख्रा, २० वटा बंगुर, ११ वटा माहुरी घार र ४ वटा गोठ निर्माणका लागि अनुदान पाएका छन् । कृषि व्यवसायको सुधार गर्दै दिगो आयआर्जनमा जोडिन मद्दत गर्ने उद्देश्य अनुसार उपमहानगरले ५० प्रतिशत लागत व्यहोरेको छ ।