मिर्चैया नगरपालिकाले ल्यायो ७० करोडको बजेट, स्वास्थ्य र पूर्वाधारमा जोड


सिरहा । मिर्चैया नगरपालिकाले आर्थिक वर्ष २०८२\०८३ का लागि ७० करोड ११ लाख ८९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले पालिकाको १५औँ नगरसभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ ।
बजेटमा संघीय सरकारको राजस्व बाँडफाँड, सशर्त र विशेष अनुदानसहित आन्तरिक आम्दानी गरी १४ करोड ८ लाख रुपैयाँ समेटिएको छ । प्रदेश सरकारबाट प्राप्त अनुदान, समानीकरण तथा विशेष सहयोग पनि बजेटको हिस्सा बनेका छन् ।
नगरप्रमुख यादवका अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई १० हजार रुपैयाँ प्रोत्साहन अनुदान दिइनेछ भने शिक्षकका लागि दक्षता अभिवृद्धि तालिममा १० लाख छुट्टाइएको छ ।
स्वास्थ्य क्षेत्रमा सर्पदंश उपचारको लागि मिर्चैया अस्पतालमा विशेष सेवा सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा र उपचारको व्यवस्था गरिनेछ ।
कृषि क्षेत्रमा सशक्तीकरणका लागि हालसम्म ४० वटा सिँचाइ बोर्डिङ स्थापना भइसकेको र थप प्रक्रिया अघि बढाइएको छ । सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत्को सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोर्ने निर्णय गरिएको छ ।
पूर्वाधार क्षेत्रमा नगरको मुख्य बजार व्यवस्थापनका लागि ७ करोड रुपैयाँ छुट्टाइएको छ । ग्रामीण सडक, ढल, खानेपानी लगायत पूर्वाधारमा पनि लगानी गरिएको छ ।
नगरप्रमुख यादवले सबै वडामा समावेशी योजना, रोजगारी सृजना र सामाजिक न्याय सुनिश्चित गर्ने कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।
मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवले योजनाहरू दिगो, समावेशी र स्थानीय आवश्यकता अनुसार बनाउने सुझाव दिएका छन् ।