गृहमन्त्रीमाथि सांसद शाहको व्यंग्य : काफिला लुट्दा मौन बस्ने कायर रहबर !


काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकामाथि टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले इतिहासले उनलाई ‘काफिला लुट्दा मौन बस्ने कायर रहबर’का रूपमा सम्झिने दाबी गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै शाहले सरकारले भिजिट भिसा प्रकरणमा छानबिनको साटो मौनता अपनाएको आरोप लगाए । ‘सरकार मुखदर्शक बनेर बसिरहेको छ,’ उनले भने, ‘भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा संलग्न सबै पात्रलाई कानुनअनुसार कारबाही हुनुपर्छ ।’
उनले फेरि एकपटक भिजिट भिसाबाट ठगिएका नेपाली नागरिकलाई न्याय दिलाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग दोहोर्याए ।
रास्वपा गृहमन्त्री लेखकको राजीनामा र निष्पक्ष छानबिनको माग गर्दै संसदमा निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । शाहले विरोधलाई सिर्जनात्मक दबाब भन्दै सरकारले नागरिकप्रति जवाफदेही हुनुपर्ने औंल्याए ।