उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै


काठमाडौं । उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा सार्वजनिक सेवा सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउने विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए ।
उक्त आयोग गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको हो भने पहिलो बैठक असार ४ गते सम्पन्न भएको थियो ।
आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन मन्त्री अजयकुमार चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता लगायत सहभागी छन् । आयोगमा दुई जना राजनीतिक दलका प्रतिनिधि र तीन जना विज्ञ (एक महिला अनिवार्य) सदस्य मनोनयन प्रक्रियामा रहेका छन् ।
आयोगलाई सेवा प्रवाह गर्ने निकायको संरचना, कार्यविधि र प्रविधि सुधार गरी सेवामैत्री बनाउने, निर्णय प्रक्रियामा ढिलासुस्ती घटाउने, नतिजामुखी कार्यसम्पादन सुनिश्चित गर्ने, तहगत तथा निकायगत समन्वय मजबुत पार्ने जिम्मेवारी दिइएको छ ।
त्यस्तै तीन तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने, संघीयताअनुकूल प्रशासनिक संरचना, कार्यप्रणाली र कानूनको सुधार, सुशासनसम्बन्धी कानुनी खाका पहिचान तथा निजामती सेवा सक्षम, उत्तरदायी र उच्च मनोबलयुक्त बनाउने कार्यमा समेत आयोगले भूमिका खेल्नेछ ।