घरभित्रै पसेको बाढीले बगाउँदा एक महिला बेपत्ता


नुवाकोट । ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा घरभित्र पसेको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छिन् । बिमचा खोल्सीमा शुक्रवार बिहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन् ।
लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बाढीका कारण बिमलाका श्रीमान अशोक बलामी घाइते भएका छन् । बिमलाको खोजी कार्य भइरहेको र बलामीलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए। बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ ।