Ad Image

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/00000000.jpg

सिराहा । लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तिकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरू गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो ।

रु १६ लाख ४४ हजारको लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ । आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ । भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले संयुक्त रूपमा गरे ।

कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताए । “हिंसारहित वातावरणमा काम गर्न, न्यायोचित ज्यालाको माग गर्न तथा विभिन्न तालिम, गोष्ठी सञ्चालन गर्न यो भवन उपयोगी हुनेछ,” उनले भने ।

वडाअध्यक्ष बद्रीनारायण चौधरीले श्रमिक महिलाको सुरक्षाको सवालमा वडा कार्यालय तथा नगरपालिकाले संवेदनशीलता देखाउँदै आएको बताए । उनले लहानमा पहिलोपटक श्रमिक महिलाका लागि भवन बन्न लागेकामा खुसी व्यक्त गरे ।

नगरप्रमुख महेशप्रसाद चौधरीले भविष्यमा यही भवनमा सीपमूलक तालिम, कानुनी साक्षरता कार्यक्रम र महिला नेतृत्व विकासका कार्य सञ्चालन सहज हुने भन्दै नगरपालिका त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “महिला श्रमिकको हक, सुरक्षा र सशक्तिकरणका लागि लहान नगरपालिका सधैँ प्रतिबद्ध रहन्छ । भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।”

कार्यक्रममा उपस्थित श्रमिक महिलाले भवनमा सञ्चालन हुने सीपमूलक तालिमले वैकल्पिक आयआर्जन पनि गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणका लागि लहान नगरपालिका–१२ स्थित शिव मन्दिर छेउको सार्वजनिक जमिन नगरपालिकाले प्रदान गरेको हो ।