Ad Image

हुँदै नभएको विद्यालयको भवन बनाउने नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar2.jpg

काठमाडौं । हुँदै नभएको विद्यालयको भवन बनाउने नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा प्राविको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखपाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको र हालको ठूलीभेरी नगरपालिका– ४ मा पर्ने तिप्लामा हाल श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेकाले उनीहरुले काल्पनिक दुर्गा प्रावि नामको विद्यालय खडा गरेर भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको अख्तियारकाे आरोप छ ।

अख्तियारको केन्द्री कार्यालय टंगालबाट खटिएको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुले तत्कालीन समयमा काल्पनिक विद्यालयको उपभोक्ता समिति गठन गरी जस्ता–छानासहितको २ कोठे भवन निर्माणका नाममा झुट्टा र नक्कली कागजात तयार पारेर चेकमार्फत जिल्ला प्राविधिक कार्यालयबाट भुक्तानी समेत लिएको पाएको अख्तियारले जनाएकाे छ ।

अख्तियारले उनीहरुविरुद्ध भ्रष्टचार निवारण ऐन २०५९ बमोजिम कैद र रकम असुल गर्न मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।