जाजरकोटका डिभिजन वन अधिकृत कार्यकक्षमै कुटिए


सुर्खेत । जाजरकोट डिभिजन वन कार्यालयका प्रमुख अमर प्रसाद साहमाथि आइतबार दिउँसो कार्यकक्षमै कुटपिट भएको छ । करिब ४ बजेतिर कालो मास्क लगाएका तीन–चार जनाको समूह कार्यालयमा प्रवेश गरी साहमाथि हातपात गरेर फरार भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार आक्रमणकारीहरूको पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनापछि सम्भावित स्थानहरूमा गस्ती र खोजी कार्य तीव्र बनाएको जनाएको छ ।
कुटपिटको कारण औपचारिक रूपमा नखुले पनि आक्रमणकारीहरूले “भ्रष्टाचारी” भन्दै दुव्र्यवहार गरेको बताइएको छ । केही समयअघि डिएफओ साहले कार्यालयमै मदिरा सेवन गरेर पाटी गरेको खबर सार्वजनिक भएको थियो ।